बैतडी –सरकारले हप्ताको दुई दिन बिदा दिन थालेपछि सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालयमा पहिलाको तुलनामा आजभोलि निकै भीड बढेको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने, नाबालिग परिचय पत्र बनाउने देखि लिएर अन्य सेवाका लागि पुग्नेहरुको भीड बढेपछि रातिको समयमा समेत सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए । सोमबारको दिन राति १० बजे सम्म सेवा दिइएको उनले बताए । उनले भने ‘टाढाका नागरिक सेवाका लागि आउने गरेका छन् । उनीहरुलाई फर्काउन पनि त्यति उपयुक्त हुँदैन त्यसैले हामीले रातिको समयमा समेत सेवा दिन थालेका छौं ।’
जिल्ला प्रशासन कार्यालयमा सेवाका लागि पुगेका नागरिकहरुले सेवा प्राप्त गरेर मात्रै फर्किउन भन्ने उद्देश्यले रातिको समयमा समेत सेवा दिन थालिएको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘सेवाग्राहीहरुलाई जसरी पनि सेवा प्राप्त होस भन्ने हाम्रो उद्देश्य छ । त्यसैले कार्यालय समय बाहेक पनि हामीले सेवा दिने गरेका छौं ।’
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भीड बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको काम भईरहेकाले नागरिकताको प्रतिलिपि लिनेको संख्या पनि बढ्दै गएको छ । पुरानो नागरिकता भएमा राष्ट्रिय परिचय पत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको संख्या पनि बढ्दै गएको प्रशासकीय अधिकृत बोहराले बताए ।
यस्तै सरकारले दुई दिन बिदा दिने गरेकाले सेवाग्राहीको चाप बढ्दै गएको सूचना अधिकारी भारतीले बताए । हप्तामा ५ दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढेको उनको भनाई छ ।




