बैतडी –जिल्ला समन्वय समिति बैतडीको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । मतदाताहरुको अन्तिम नामावली भने भोलि प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै जेठ २१ गते उम्मेदवारहरुको मनोनयन दर्ता, जेठ २२ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान र जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए ।
जिल्ला समन्वय समितिको निर्वाचनमा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ । यस्तै स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारी उम्मेदवार हुन पाउने व्यवस्था रहेको छ ।
एकजना प्रमुख, एकजना उपप्रमुख, तीन जना महिला सदस्य, तीन जना खुल्ला सदस्य र एकजना दलित वा अल्पसंख्यक सदस्य गरी ९ सदस्यीय समितिका लागि निर्वाचन हुने भएको हो ।
बैतडीमा जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गर्ने तयारी गरेका छन् । प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई दिने सहमति भएको कांग्रेस बैतडीका कोषाध्यक्ष चक्रबहादुर चन्दले बताए ।
जिल्ला समन्वय समितिका लागि नेपाली कांग्रेससंग ९ जना, एमालेसंग ८ जना, माओवादी केन्द्रसंग २ जना र एकजना स्वतन्त्र मतदाता रहेका छन् । यसरी हेर्दा कांग्रेस र माओवादी मिलेमा उनीहरुको बहुमत हुने देखिएको छ ।




