Sagun Khabar
बैतडीको दशरथचन्दमा योजना छनौट गर्न टोलभेला शुरु 
फोटो :दनपा १ मा गरिएको टोल भेला

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षका लागि योजना छनौटको प्रक्रिया शुरु गरेको छ । नगरपालिकाका वडाहरुमा टोल भेला शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए । 

वडाका योजनाहरुलाई प्राथमिकीकरण गर्नका लागि टोलभेला शुरु गरिएको दशरथचन्द नगरपालिका वडा नं १ का वडा अध्यक्ष विष्णुदत्त भट्टले बताए । टोलको आवश्यकता अनुसारका योजना छनौट गर्न स्थानीयहरुकै सहभागितामा टोल भेला भईरहेका उनले बताए । वडा नं १ को साविकका वडा नं ८ र ९ मा आज टोल भेला सम्पन्न भएको छ । 

यही जेठ २३ गतेभित्र वडाभित्रका टोलहरुमा भेला सकेर वडाबाट योजनाहरु प्राथमिकीकरण गर्ने आफूहरुको योजना रहेको वडा अध्यक्ष भट्टले बताए । टोलबाट आएका योजनाहरुलाई प्राथमिकताको आधारमा छनौट गर्ने उनले बताए । वडाबाट छनौट भएका योजनाहरुलाई नगरपालिकामा पठाइने वडा अध्यक्ष भट्टले बताए । 

वडाबाट सिफारिश भएका आएका योजनाहरुलाई बिषयगत समितिमा छलफल गरेर योजना तर्जुमा समितिमा पठाइने र त्यसपछि सभामा पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । असार १० गतेभित्र योजनाहरु नगरसभामा पेश हुने उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update