Sagun Khabar
बैतडीको वसन्तपुरमा खानेपानीको समस्या, टाढाबाट पानी बोक्नुपर्ने स्थानीयको बाध्यता 

बैतडी –बैतडीको पाटन नगरपालिका ५ वसन्तपुरमा खानेपानीको समस्या भएको छ । वसन्तपुरको कनेडा गाउँमा खानेपानीको चरम समस्या रहेको स्थानीय ध्वजसिंह ठगुन्नाले बताए । 

सुख्खायामको समयमा आधा घण्टाको पैदल दुरीमा रहेको मूहानबाट खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए । नजिक मूहान नहुँदा टाढाबाट खानेपानीको जोहो गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । उनले भने ‘हाम्रो गाउँमा खानेपानीको निकै समस्या रहेको छ । सुख्खायाममा खानेपानीको जोहो गर्न निकै मुस्किल हुन्छ ।’

गाउँमा खानेपानीको नहुँदा गाईवस्तु पाल्न समेत समस्या भएको स्थानीय पशुपति ठगुन्नाले बताइन् । घरकै लागि पानीको जोहो गर्न मुस्किल भएकोले वस्तुभाउका लागि पानी नै बोक्न नसकिने अवस्था रहेको उनले सुनाइन् । उनले भनिन् ‘टाढाबाट पानी बोक्न निकै समस्या रहेको छ । गाउँमा खानेपानी नहुँदा पिठ्युमा गेलेनमा बोकेर ल्याउनुपर्ने बाध्यता रही आएको छ ।’

गाउँमा खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसंग पहल गर्दा समेत सुनुवाई नभएको स्थानीयहरुले बताएका छन् । पञ्चायतकालदेखि नै आफूहरुले खानेपानीको समस्या झेलीरहेको स्थानीय ध्वजसिंह ठगुन्नाले बताए । 

नगरपालिकाका विभिन्न स्थानमा खानेपानीको समस्या रहेकाले ती समस्या समाधानका लागि नगरपालिकाले पहल गर्ने उपप्रमुख कमलसिंह बोहराले बताए । वसन्तपुरमा मात्रै नभएर नगरपालिकाका धेरै जसो ठाउँमा खानेपानीको समस्या भएकोले ती समस्या समाधानका लागि पहल गर्ने उनले बताए । उनले भने ‘हामीेले पहिलो बर्षमा खानेपानी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरिसकेका छौं । खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर हामीले काम गर्छौं ।’
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update