Sagun Khabar
यी हुन गठबन्धनबाट जिसस बैतडीका उम्मेदवार 

बैतडी –जिल्ला समन्वय समिति बैतडीको चुनावका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले गठबन्धन गरेका छन् । गठबन्धनमा भएको सहमति अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीलाई उम्मेदवार बनाइएको छ । नेपाली कांग्रेस बैतडीका उपसभापति समेत रहेका धामीलाई समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवार बनाइएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

यस्तै नेपाली कांग्रेसबाट खुला सदस्यमा करनसिंह कठायत र दानबहादुर बिष्टलाई उम्मेदवार बनाइएको छ भने महिला सदस्यमा यशोदा चन्दलाई उम्मेदवार बनाइएको छ । यसैगरी दलित सदस्यमा हरु नेपालीलाई उम्मेदवार बनाइएको छ । 

यस्तै उपप्रमुख माओवादी केन्द्रबाट दमन कुँवर (आदर्श)लाई उम्मेदवार बनाइएको छ । माओवादी केन्द्रबाट खुला सदस्यमा प्रेमसिंह भाट र महिला सदस्यमा निर्मला भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले जानकारी दिए । 

यस्तै एकजना महिला सदस्य स्वतन्त्रबाट उम्मेदवार बनाउने सहमति भएको नेपाली कांग्रेसका सचिव जोशीले बताए । नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको गठबन्धन हुँदा समन्वय समितिमा गठबन्धनको बहुमत देखिएको छ । 

जिल्ला समन्वय समितिमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने प्रावधान रही आएको छ । यसरी हेर्दा गठबन्धनसंग १२ मत भएको छ भने एमालेसंग ८ मत रहेको छ । 

यसैबीच निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचन प्रयोजनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । बैतडीमा यही जेठ २४ गते जिल्ला समन्वय समितिको निर्वाचन हुँदैछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update