बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा पछिल्लो समयमा सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो दुई हप्ता यता कार्यालयमा नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि बनाउने र राष्ट्रिय परिचय पत्रमा नाम दर्ता गराउने सेवाग्राहीको संख्या बढ्दै गएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
प्रशासन कार्यालयमा अहिले दैनिक ७० भन्दा बढी नयाँ नागरिकता र एकसयको हाराहारीमा प्रतिलिपि बनाउने सेवाग्राही आउने गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए ।
जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान सञ्चालन भईरहेकाले पनि प्रशासन कार्यालयमा सेवा लिन आउनेको संख्या बढ्दै गएको बोहराले बताए । राष्ट्रिय परिचय पत्र बनाउँदा नेपाली नागरिकताको प्रमाणपत्र पुरानो भएमा सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको संख्या बढ्दै गएको उनले बताए ।
यस्तै सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध जेष्ठ नागरिक पनि प्रतिलिपि लिनका लागि बढी आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । सामाजिक सुरक्षाका लागि पनि नागरिकता आवश्यक रहेकाले उनीहरु नयाँ नागरिकता र प्रतिलिपि बनाउन आउने गरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयमा टाढाका नागरिक सेवा लिन आउने भएकाले रातिको समयमा समेत सेवा दिने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । सेवाग्राहीको काम नसकिञ्जेल सम्म रातिको समयमा कर्मचारीहरुले सेवा दिने गरेको उनले बताए । टाढाबाट आएका नागरिकलाई सहज होस भनेर रातिको समयमा समेत सेवा दिने काम भईरहेको उनले बताए ।




