बैतडी –यही जेठ २४ गते हुने जिल्ला समन्वय समिति बैतडीको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९ पदका लागि १७ जनाको मनोनयन दर्ता भएको छ ।
जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने एमाले एक्लैले उम्मेदवारी दर्ता गरेको छ ।
जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने एमालेबाट हेमा भट्ट (कपाडी) उम्मेदवारी दर्ता भएको छ ।
खुल्ला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रबाट प्रेमसिंह भाटको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेको तर्फबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको मनोनयन दर्ता भएको छ ।
यस्तै खुला तीन महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द, माओवादी केन्द्रबाट निर्मला भट्ट र स्वतन्त्रबाट हरना पार्कीको उम्मेदवारी दर्ता भएको छ । यस्तै एमालेबाट महिला सदस्यमा चन्द्रा जोशी (पाण्डेय) र यशोदा महरा गरेर दुई जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।
यस्तै दलित सदस्यमा नेपाली कांग्रेसबाट हरु नेपाली र एमालेबाट द्रोपती दयालको उम्मेदवारी दर्ता भएको छ ।
जिल्ला समन्वय समितिमा पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने प्रावधान छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसंग १२ मतभार रहेको छ भने एमालेसंग ८ मतभार रहेको छ । यसरी हेर्दा समन्वय समितिमा गठबन्धनको जित हुने देखिएको छ । जिल्ला समन्वय समितिको नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजेसम्म मतदानको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




