बैतडी –डिलाशैनी गाउँपालिकामा नयाँ नेतृत्व आएसंगै पालिकाको प्रशासकीय भवन र अन्य संरचना बनाउन जग्गा खोजी गर्न थालिएको छ । पालिकाको केन्द्र धामीगाउँमा प्रशासकीय भवन र अन्य संरचना निर्माण गर्नका लागि निशुल्क जग्गा उपलब्ध गराउन स्थानीयहरुसंग पालिकाले आग्रह गरेको छ ।
गाउँकार्यपालिकाको यही जेठ १० गते बसेको बैठकले पालिकाको संरचना निर्माणका लागि वडा नं ७ भित्र कम्तीमा २० रोपनी जग्गा खोज्ने निर्णय गरेपछि पालिकाले सूचना जारी गर्दै निशुल्क जग्गा उपलब्ध गराउन आग्रह गरेको हो ।
पालिकाले आज एक सूचना जारी गर्दै १५ दिनभित्रमा पालिकाका लागि जग्गादान गर्ने एकल वा संयुक्त जग्गादाताहरुलाई लालपूजा र नागरिकता सहित पालिकामा सम्पर्क राख्न आग्रह गरिएको छ ।
अघिल्लो सरकारले सम्पर्क कार्यालयको नाममा वडा नं ३ को पङसेरामा कार्यालय सञ्चालन गर्दै आएको नयाँ सरकार आएपछि पालिकाको केन्द्र धामीगाउँबाटै सेवा सुचारु गरिएको छ ।




