Sagun Khabar
जिसस बैतडीको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन, चुनाव चिन्ह पनि प्रदान 

बैतडी –जिल्ला समन्वय समिति बैतडीको यही जेठ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । शनिबार मनोनयन दर्ता भएका उम्मेदवारहरुको आइतबार अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए । 

यस्तै उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेकाहरुलाई पार्टीकै चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवारलाई पुतली चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ । 

जिल्ला समन्वय समितिको प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको उम्मेदवारी रहेको छ भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी रहेको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवरको उम्मेदवारी परेको छ भने एमालेबाट हेमा भट्ट (कपाडी)को उम्मेदवारी परेको छ । 

यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा, कालुसिंह जोशी र दिपेन्द्रबहादुर धानुकको उम्मेदवारी रहेको छ । 

यस्तै तीन महिला सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्टको उम्मेदवारी रहेको छ । यस्तै एमालेबाट चन्द्रा जोशी (पाण्डेय) र यशोदा महराको उम्मेदवारी परेको छ ।

यस्तै एकजना दलित सदस्यका लागि गठबन्धनबाट स्वतन्त्रका हरना सार्की र एमालेबाट द्रोपती दयालको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि जेठ २४ गते बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान रहेको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र सहितको गठबन्धनसंग १२ मत रहेको छ भने एमालेसंग ८ मत मात्रै रहेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update