Sagun Khabar
पाँच दिन लगाएर पनि गाउँमा पानी नपुग्दा धुलिधारका बासिन्दा निराश 
फोटो: खानेपानी लाइन मर्मतका लागि खटिएका धुलिधारका बासिन्दा, तस्बिर : दीपक बिष्ट

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ५ धुलिधारमा खानेपानीको चरम समस्या भएको छ । १८किलोमिटर टाढा रहेको मूहानबाट धुलिधार गाउँमा पानी पुगेको भएपनि पछिल्लो समयमा खानेपानी योजना जीर्ण हुँदा गाउँमा खानेपानी पुर्याउन मुस्किल भएको स्थानीय दीपक बिष्टले बताए । 

खानेपानी लाइन मर्मतका लागि स्थानीयहरुले पाँच लगाएर काम गरेपनि पाइप लाइनमा पानी नै नआएको उनले बताए । खानेपानी लाइन जीर्ण हुँदा खानेपानी गाउँमा पुग्न नसकेको स्थानीयहरुको भनाई छ । 

सुर्नया गाउँपालिका वडा नं ७ स्थित खड्कीगाड मूहानमा पानी प्रशस्त भएपनि पाइपलाइन लामो र जीर्ण भएका कारण गाउँमा खानेपानी अवरुद्ध भएको स्थानीय लोकेश बिष्टले बताए । उनले भने ‘गाउँमा खानेपानीको हाहाकार छ । टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता छ । गाउँमा खानेपानी अवरुद्ध भएको छ ।’

गाउँमा आउने खानेपानी मर्मत गरेर भएपनि पानी पुर्याउन भनेर गाउँका अधिकांश मानिसले पाँच दिन सम्म काम गरे । तर गाउँमा खानेपानी पुर्याउन नसक्दा उनीहरु निराश भएका छन् । स्थानीय दीपक बिष्टले भने, ‘खानेपानीका लागि हामीले रातदिन नभनेर लगातार पाँच दिन काम गर्यौं । तर गाउँमा पानी पुर्याउन नसक्दा हामी निराश भएर फर्केका छौं ।’

धुलिधार गाउँमा खानेपानीका लागि अहिले अनिँदो बस्नुपरीरहेको स्थानीयहरुले बताएका छन् । टाढाको कुवामा समेत प्रशस्त पानी नहुँदा समस्या भएको छ । 

धुलिधारबासीको समस्याका बारेमा आफू जानकार रहेको बताउँदै सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले लिफ्ट मार्फत गाउँमा खानेपानी पुर्याउन प्रयास गरिने बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update