Sagun Khabar
कोरोना कहर : भारतको रोजगारी गुम्दा परिवार पाल्नै धौ धौ 
फोटो :केही दिन पहिला भारतको मुम्बईबाट बैतडी फर्केका युवाहरु  तस्बिर :सौजन्य किशोर कार्की 

बैतडी – जिल्लाको मेलौली नगरपालिका ७ का किशोर कार्की कोरोनाको पहिलो लहर फैलिँदा गत बर्ष स्वदेश फर्के । आफ्नै गाउँमा केही गर्न सकिने उनको आस थियो । ६ महिनासम्म घर बस्दा पनि रोजगारीको केही अवसर नपाउँदा फेरी उनी भारतको मुम्बई गए । एक कम्पनीमा मासिक २० हजार भारु कमाईरहेका किशोर कोरोना दोश्रो लहर फैलिएपछि फेरी गाउँमै आएका छन् । 

‘कोरोना कारण उता बस्न सकिएन् । अहिले परिवार कसरी चलाउने भन्ने चिन्ता छ । यता रोजगारीको केही सम्भावना छैन् । नेताहरु चुनावका बेलामात्रै ठुल्ठूला कुरा गर्छन् । यस्तो महामारीमा उनीहरुलाई के मतलब छ र ?’उनले गुनासो गर्दै भने, ‘हामी हजारौं युवा रोजगारी गुमाएर फर्केका छौं । तर हाम्रो व्यवस्थापनमा कसैले ध्यान दिएको छैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाको पञ्चेश्वर गाउँपालिकाका पंकज साउँद पनि भारतको रोजगारी गुमाएर घर फर्केका छन् । तर गाउँमा रोजगारीको कुनै सम्भावना नहुँदा उनलाई पनि समस्या भएको छ । ‘आम्दानी हुने खालको काम नै पाइदैन् । कसरी परिवार पाल्ने ?’उनले भने, ‘हामीलाई रोगभन्दा भोकले सताउला जस्तो छ ।’

कोरोना कहरकै कारण सुर्नया ६ का केशव अवस्थीले भारतबाट घर फर्केको एक बर्ष हुन लागेको छ । गत असोजमा घर फर्केका उनलाई अहिले परिवारको व्यवस्थापनमा निकै चुनौती छ । उनले भने ‘सरकार छ भन्थे हाम्रा लागि त कोही छैन् । नेताहरु केही कार्यक्रम आएपनि आफ्नै कार्यकर्तालाई दिन्छन् । भारतको रोजगारीको भरमा परिवार पाल्थ्यौं । कोरोनाले त्यो बाटो पनि रोकेको छ ।’

भारतको रोजगारी गुमाउँदा परिवार पाल्न धौ धौ भएका यी केही नागरिकका उदाहरण मात्रै हुन् । गत बर्ष मात्रै भारतको रोजगारी गुमाएर बैतडीमा १२ हजार बढी नागरिक स्वदेश फर्केका छन् । उनीहरु सबै अहिले बेरोजगार बस्न बाध्य भएका छन् । स्थानीय सरकारहरुले पनि भारतबाट रोजगारी गुमाएर फर्केकाहरुका लागि खासै कार्यक्रम ल्याउन सकेका छैन् । प्रदेश सरकारका योजनाहरु कार्यकर्तामुखी हुँदा बेरोजगारहरुलाई रोजगारी पाउन सकस भएको छ । संघीय सरकारले पनि भारतबाट रोजगारी गुमाएर फर्केकाहरुका लागि कार्यक्रम नै ल्याएको छैन् । 

सरकारहरुले भारतबाट रोजगारी गुमाएर फर्केकाहरुका लागि बिशेष प्याकेज ल्याउनुपर्ने दशरथचन्द नगरपालिका १ गुरुखोलाका पुष्कर भट्टले बताए । उनले भने ‘सरकारलाई युवाहरु बेरोजगार भएको बिषयमा ध्यान नै छैन् । उनीहरुलाई केवल सत्ताको दौडधुप मात्रै छ । युवाहरुलाई रोजगारीको व्यवस्थापन गर्न नसके यसले समाजमा ठूलो समस्या पैदा गर्न सक्छ ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update