Sagun Khabar
बाढी पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन सरकारको आग्रह

काठमाण्डाै - आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update