Sagun Khabar
संसद विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । आज सुनुवाइ हुने ३० वटामध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनःस्थापना र संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । 

चार वटा निवेदनमा भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्ने दाबी गरिएको छ । विपक्षी दलहरुले सर्वोच्चमा बहुमत सांसदको उपस्थितिसहित दर्ता गरेको रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले हिजो संवैधानिक इजलासमै पठाउने आदेश दिएको थियो । हिजो रिटको प्रारम्भिक सुनुवाइका क्रममा भोलि जेठ १५ को बजेट पेस गर्नुपर्ने भएकाले यसअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको आवश्यक भएकाले अन्तरिम आदेशको माग गरिएको थियो । 

तर प्रधानन्यायाधीशको इजलासले रिट निवेदनहरुमा उठान भएको विषयसमेत गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले आवश्यक प्रक्रिया पूरा गरी संवैधानिक इजालसमा पेस गर्न आदेश भएको हो । आज प्रधानन्यायाधीशकै नेतृत्वमा कम्तीमा पाँच सदस्यीय इजलासमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

–उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update