Sagun Khabar
आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

काठमाण्डाै - चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले दिउँसो चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ । प्रतिनिधि सभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख भए पनि नियमावली सरकारले मिचेको छ । यस्तै संसदमा बजेट पूर्वको छलफल गर्नुपर्नेमा त्यो पनि गरेको छैन ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेका छन् । चुनाव घोषणा गरेको सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरुले भन्दै आएका छन् । तर सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आकलन गरिएको छ । यस्तै कोरोनाविरुद्धको खोप खरिद्, स्वास्थ्य संरचना सुधार, महामारीबाट समस्यामा परेको निजी क्षेत्रलाई राहत, ठूला आयोजनाको निरन्तरता लगायतका विषय बजेटमा समेट्ने तयारी छ ।

Atrya hospital

स्रोतले नधान्ने भएपछि सरकारले झण्डै पाँच खर्ब रुपैयाँ हाराहारीमा ऋण लिने गरी बजेट ल्याउन लागेको हो ।

-उज्यालो अनलाइनबाट 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update