
बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ३ स्थित एक विद्यालय भवन निर्माणमा काम गरेका मजदुरहरुले ज्याला पाएका छैनन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भुमेश्वर आधारभूत विद्यालय, मौनीको दुईकोठ भवन निर्माणको क्रममा काम गरेका मजदुरहरुले ज्याला नपाएको गुनासो गरेका हुन् ।
भवन निर्माण कार्य सम्पन्न भइसकेको भएपनि आफूहरुले काम गरेको पैसा नपाएको मजदुरहरुको गुनासो छ । भवन निर्माण कार्य सम्पन्न भएर गाउँपालिकाबाट रकम समेत निकासा भइसक्दा आफूहरुले काम गरेको पैसा नपाएको स्थानीयहरुले गुनासो गरेका छन् ।
भवन निर्माणको क्रममा काम गरेका १०÷१५ जना मजदुरहरुले आफूहरुले काम गरेको २ लाख बढी रकम नपाएको गुनासो गरेका छन् ।
गत आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो विद्यालयको भवन निर्माणका लागि १८ लाख बजेट आएको थियो । सो बजेट निकासा भइसकेको भएपनि मजदुरहरुले पैसा नपाएका हुन् ।
यो बिषयमा विद्यालयका प्रधानाध्यापक बीरबहादुर धामीले मजदुरहरुको पैसा तिर्न बाँकी रहेको स्वीकार गरे । भवन निर्माणका क्रममा सामग्री ढुवानीमा बढी रकम खर्च हुँदा पैसा अपुग भएको उनको भनाइ छ । झण्डै ३ लाख १५ हजार रकम तिर्न बाँकी रहेको र यसको बिषयमा पालिकामा समेत जानकारी गराइसकेको उनको दाबी छ ।
१८ लाख मध्ये १ लाख ६० हजार डिपीआर निर्माणमा खर्च भएको र विद्यालयले १६ लाख ४४ हजार रकम प्राप्त गर्दा निर्माण सामग्री, निर्माण सामग्री ढुवानी लगायतमा बढी खर्च हुँदा समस्या भएको उनको भनाइ छ ।
भवन निर्माणमा काम गरेका मजदुरहरुको पैसा दिनका लागि गाउँपालिकासंग आग्रह गरेको प्रधानाध्यापक धामीले बताए । तर मजदुरहरुले भने भवन निर्माणको क्रममा अनियमितता भएको आशंका गरेका छन् ।