बैतडी–बैतडीका विभिन्न विद्यालयहरुमा विद्युती सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको छ ।
नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत सुरक्षा सचेतना सप्ताह अन्तर्गत जिल्लाका चारओटा विद्यालयमा सचेतना कक्षा सञ्चालन गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्राविधिक प्रमुख माधवप्रसाद लेखकले बताए ।
विद्युतीय दुर्घटना न्यूनीकरण, विद्युत महसुल,विद्युत चोरी लगायतका बिषयमा विद्यार्थीहरुमार्फत आम उपभोक्ताहरुलाई विद्युतीय सुरक्षाका बिषयमा जानकारी दिनका लागि विद्यालयहरुमा कक्षा सञ्चालन गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख सुजन आचार्यले बताए ।
विद्युतीय दुर्घटनाबाट बच्नका लागि विभिन्न प्रकारका सुरक्षाका उपायहरु अपनाउनुपर्ने र ती उपायका बिषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको उनले बताए ।
नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयको निर्णय अनुसार जिल्ला तहमा विद्युतीय सुरक्षा सम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको प्राविधिक प्रमुख लेखकले बताए ।
केही दिन पहिला दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीहरुलाई विद्युतीय सुरक्षासम्बन्धी जानकारी दिएको कार्यालयले आज भुमेश्वर मावि ठाँडमा कक्षा सञ्चालन गरेको बताइएको छ ।




