Sagun Khabar
दार्चुलामा स्याउ उत्पादनमा वृद्धि 

दार्चुला –दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको दार्चुलाको अपिहिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको हो ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।

गाउँगाउँमा स्याउ उत्पादन राम्रो भएको अपिहिमालका – ४ का स्थानीय जनक ठेकरले बताए । स्याउलाई बजार सम्म पुर्याउन भने बाटोको समस्या रहेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान  मर्कामा परेका छन् । हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाले बताए । 

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ । जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ। जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा नौ सय १० मेट्रिक टन र ०७७÷७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए । २०७६÷७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ ।  

जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update