Sagun Khabar
बैतडीको खोड्पेमा हेल्थ डेस्क सञ्चालन, जिल्ला भित्रिनेको कोरोना परीक्षण  
फोटो :बैतडीको खोड्पेमा सञ्चालन भएको हेल्थ डेस्क 

बैतडी –बैतडीको खोड्पेमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । जिल्ला भित्रिने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्नका लागि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

तराईका जिल्लाबाट बैतडी भित्रिने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरेर मात्रै जिल्ला भित्रिन दिइने उनले बताए । उनले भने ‘जिल्ला भित्रिने सबै नागरिकको हेल्थ डेस्कमा एन्टीजेन विधि मार्फत कोरोना परीक्षण हुन्छ । कोरोना संक्रमण न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास गरेका छौं ।’

कोरोना भाईरसको संक्रमण रोकथामका लागि खोड्पेमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । तराईबाट खाद्यान्न बोकेर बैतडी आएका गाडीमा सवार प्रत्येक व्यक्तिको कोरोना परीक्षण गरिने उनले बताए । उनले भने ‘हामीले जिल्ला कोभीड संकट व्यवस्थापन समिति बैठकको निर्णय अनुसार खोड्पेमा हेल्थ डेस्क सञ्चालनमा ल्याएका छौं । यसले कोरोनाको चेन ब्रेक गर्न केही सहयोग पुग्नेछ ।’

कोरोना रिपोट नेगेटिभ आएकाहरुलाई जिल्ला भित्रिन दिइनेछ भने पोजेटिभ आएकाहरुलाई क्वारेन्टाइनमा राखिनेछ । खोड्पेमै रहेको सिद्धदीप आधारभूत विद्यालयमा क्वारेन्टाइनको समेत व्यवस्था गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । उनले भने ‘हामीले खोड्पेमै क्वारेन्टाइनको व्यवस्था पनि गरेका छौं । पोजेटिभ आएकाहरुलाई क्वारेन्टाइनमा राख्छौं ।’

खोड्पेको हेल्थ डेस्कमा अहिले एक हजार एन्टीजेन कीट पठाइएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए  । सो हेल्थ डेस्कमा बिहान ६ बजेदेखि साँझ सात बजे सम्म परीक्षण गरिने उनले बताए । 

कोरोना भाईरसको परीक्षणमा सहज होस भनेर बैतडी भित्रिने गाडीलाई बिहान ६ बजेदेखि साँझ सात बजे सम्म मात्रै चल्न दिइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । 

यसअघि बैतडीको झुलाघाट नाकामा पनि गएको चैत १० देखि हेल्थडेस्क स्थापना गरेर नेपाल भित्रिने नागरिकको एन्टीजेन विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update