Sagun Khabar
दार्चुलामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ४ जनाले हाम फालेर ज्यान जोगाए 
फाइल फोटो

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथबाट मकरीगाड तर्फ जाँदै गरेकोे म १ ज २३३ नम्बरको बोलेरो जिप अपिहिमाल गाउँपालिका–५ तिम्ला भन्ने स्थानमा बिहीबार राति साढे ८ बजे तिर दुर्घटनामा परेको हो । 

जिप दुर्घटना हुँदा अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेशसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जिपमा सवार अन्य ४ जनाले हाम फालेर ज्यान जोगाएका उनले बताए । जिपमा ५ जना सवार रहेको बताइएको छ । हाम फालेका मध्ये दुई जना समान्य घाइते भएका छन् भने दुई सकुशल रहेका छन् । 

जिप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारिम्भक जानकारी आएको प्रहरी निरीक्षक शाहीले बताए । जिप चालक मार्मा गाउँपालिका ५ का ३० बर्षीय डम्मरसिंह महरा फरार रहेका र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्