बैतडी- बैतडीमा पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । देशभरि जस्तै बैतडीमा पनि आज देखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो ।
आजदेखि जिल्लाका ६ महिना देखि ५९ महिना सम्मका २२ हजार ७ सय २९ बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षका २० हजार २ सय १३ बालबालिकाहरुलाई जुकाको औषधि खुवाइन लागिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।
यस्तै छ महिना देखि २ वर्ष सम्मका ७ हजार ५ सय ३५ बालबालिकाहरुलाई बालभिटा पनि खुवाइन लागिएको उनले बताए । आज छुटेका बालबालिकालाई भोलि पनि खुवाइने सूचना अधिकारी लेखकले बताए। स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर वा महिला स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि जिल्ला भित्र स्वयंसेविका परिचालन गरिएका बताइएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५३ सालदेखि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।




