बैतडी –बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका मानसिंह बिष्टले राजनीतिक दलहरुबाट जितेकाहरुले नागरिकलाई ढाँटेको बताएका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै उम्मेदवार बिष्टले अहिले सम्म जितेकाहरुले आफ्ना कार्यकर्ताहरुको मात्रै प्रतिनिधित्व गरेको आरोप लगाए ।
यो निर्वाचनमा आम मतदाताहरुले वैकल्पिक शक्तिको खोजी गरिरहेको हुनाले आफूले उम्मेदवारी दिएको बिष्टले बताए । राजनीतिक दलबाट जितेकाहरुले आफ्ना कार्यकर्ता बाहेक अरु नागरिकको प्रतिनिधित्व गर्न नसकेको उनले जिकिर गरे । उनले भने ‘अहिले पनि आधाभन्दा बढी नागरिकलाई जनताका प्रतिनिधिहरुको साथ छैन् । भोट नदिएकै कारण उनीहरुलाई सौतेनी व्यवहार गरिएको छ । ती सबै कुराको अन्त्यका लागि मेरो उम्मेदवारी हो ।’
सूर्यमुखी फूल चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका बिष्ट लामो समय सम्म शिक्षा क्षेत्रमा काम गरेका व्यक्ति हुन् । जिल्ला शिक्षा अधिकारी समेत भइसकेका बिष्टले शिक्षा क्षेत्रको सुधार गरी आम नागरिकलाई जनप्रतिनिधि भएको आभाष दिलाउन आफूले उम्मेदवारी दिएको प्रष्ट पारे । दलबाट उम्मेदवार बनेकाहरुले सबै नागरिकको प्रतिनिधित्व गर्न नसक्ने भएकाले आफूले स्वतन्त्रबाट उम्मेदवारी दिएको बिष्टको दाबी छ । उनले भने ‘आम नागरिकलाई राज्यका निकायहरुमा पहुँच पुर्याउनका लागि मेरो उम्मेदवारी हो । नागरिकले दलीय सिण्डीकेटको विकल्प खोजीरहेका छन् । त्यसका लागि मैले उम्मेदवारी दिएको हुँ ।’
राज्यका प्रणाली अनुसार विकास निर्माण र हरेक क्षेत्रमा नागरिकको पहुँच हुनुपर्ने बताउँदै उम्मेदवार बिष्टले अहिले पहुँचका आधारमा मात्रै सरकारी सेवा प्राप्त भइरहेको बताए । उनले भने ‘पहुँच नभएका नागरिकले सरकारी सेवा पाउन सकेका छैन् । त्यसका लागि मेरो उम्मेदवारी हो ।’
चुनाव प्रचारप्रसारको क्रममा घरदैलोमा पुगिरहेको बताउँदै बिष्टले आम नागरिक विकृत राजनीतिक प्रणालीबाट आजित भएका पाइएको बताए । उनले भने ‘चुनाव जितेर गएकाहरु गाउँमा फर्केर आउँदैनन् । १० बर्ष सम्म एउटै व्यक्ति जित्दा समेत नागरिकले परिवर्तनको महसुस गर्न सकेनन् । त्यसैले अब स्वतन्त्र उम्मेदवारलाई जनताले भोट दिन्छन् ।’
बैतडीमा प्रतिनिधि सभाको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । तीन जना स्वतन्त्र सहित ८ जनाले दलहरुबाट उम्मेदवारी दिएका छन् ।




