बैतडी –बैतडीको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा १ लाख ११ हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ । पाटन नगरपालिका ४ खोल्सी घर भइ हाल अमेरीका बस्दै आएका वासुदेव भट्ट र उनका दाजु धर्मानन्द भट्टले आफ्ना आमाबुवाको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् ।
बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी भट्ट दाजुभाइले मन्दिर–द्रोपती अक्षय कोष स्थापना गरेको विद्यालयका शिक्षक राजेन्द्र ऐरीले बताए । अक्षय कोष स्थापना गरेका वासुदेव भट्ट एनआरएनए नर्थ क्यारोलेना अमेरीकाका अध्यक्ष समेत रहेका छन् ।
अक्षय कोषको ब्याजबाट विद्यालयमा अध्ययन गर्ने टुहुरा बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्य रहेको अक्षय कोष स्थापनाकर्ता धर्मानन्द भट्टले बताए । आर्थिक अभाव झेलीरहेका टुहुरा बालबालिकाहरुलाई पढाईमा सहज होस भनेर अक्षय कोष स्थापना गरिएको भट्टले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गम्भीर चन्दको अध्यक्षतामा भएको अक्षय कोष स्थापना कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका पूर्व प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहेका थिए । विद्यालयमा स्थापना गरिएको अक्षय कोषले टुहुरा बालबालिकाहरुलाई शिक्षा प्राप्तिमा सहज हुने विश्वास गरिएको छ ।




