बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अहिले उम्मेदवारहरु घरदैलो अभियानमा छन् । बैतडीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारहरुले भोट मागिरहेका छन् ।
प्रतिबद्धता सहित उम्मेदवारहरु अहिले चुनावी अभियानमा जुटेका छन् । बैतडीको प्रदेश सभा क्षेत्र नं.(ख) को लागि ५ जना चुनावी प्रतिस्पर्धामा लागेका छन् । गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका लिलाधर भट्ट, राप्रपाका नारायणदत्त जोशी, राप्रपा नेपालका प्रेमबहादुर चन्द र नागरिक उन्मुक्तिका रेबती बोहरा यो क्षेत्रमा चुनावी मैदानमा रहेका छन् ।
५ जना चुनावी मैदानमा रहेका भएपनि गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
२०४८, २०५६ र २०७० सालमा यो क्षेत्रमा नेपाली कांग्रेसले चुनाव जितेको थियो । यो क्षेत्रमा अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ सहित कांग्रेस चुनावी मैदानमा उत्रेको छ । पहिलाको आफ्नो विरासत फर्काउने कसरतमा नेपाली कांग्रेस रणनीति बनाएर चुनावमा होमिएको छ । कांग्रेसका पाका नेता शिवराज भट्टलाई उम्मेदवार बनाएर कांग्रेस चुनावी मैदानमा उत्रेको छ ।
तल्लोसोराडको सेन्टमेन्ट सहित चुनाव जित्ने रणनीतिमा कांग्रेस लागेको छ । प्रदेश क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेस बलियो रहेको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश बोहराले बताए । उनले भने ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसमा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथले हामी चुनाव जित्ने कुरामा ढुक्क छौं ।’
२०७४ सालको निर्वाचनमा यो क्षेत्रमा एमालेले चुनाव जितेको थियो । लिलाधर भट्टलाई उम्मेदवार बनाएको दोहोर्याएर चुनाव जित्ने दाउमा रहेको छ । आफ्नो कार्यकालमा आफ्नो क्षेत्रका थुप्रै काम गरेकाले चुनाव जित्ने कुरामा ढुक्क रहेको एमाले उम्मेदवार लिलाधर भट्टको दाबी छ । उनले भने ‘मैले जितेपछि राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रहेर काम गरेको छु । यसले नै मलाई यो चुनाव पनि सफलता मिल्नेछ ।’
अघिल्लो चुनावमा पनि गठबन्धनसंगै आफूले चुनाव जितेको भट्टको भनाइ छ । गएको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन भएको थियो भने कांग्रेससंग राप्रपाले गठबन्धन गरेको थियो । २०७४ मा राप्रपाका उम्मेदवार गणेशबहादुर चन्द पराजित भएका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार शिवराज भट्ट सुशासन र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछन् । यो क्षेत्रमा नेपाली कांग्रेसले जितेका बेला थुप्रै विकास भएको उनले दाबी समेत गरेका छन् । उनले भने ‘म तल्लोसोराड क्षेत्रमा जन्मेको नागरिक हौं । यो क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर जनताले मलाई दिनेछन् । मैले चुनाव जितेमा नागरिकले अनूभुती हुने गरेर काम गर्नेछु ।’
गठबन्धन र एमाले दुवैले अहिले घरदैलो अभियानमा तीव्रता दिएका छन् । यी दुई दल बाहेक अन्य उम्मेदवारहरुले पनि प्रचारप्रसार गरिरहेका छन् । तर यो क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने जानकारहरुले आँकलन गरेका छन् ।




