बैतडी –प्रतिनिधि सभा सदस्यका लागि बैतडीबाट उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णप्रसाद गोसाईले बैतडीबाट मतदान गर्न नपाउने भएका छन् । गोसाईको मतदाता नामावली भक्तपुर जिल्लामै रहेकाले उनले बैतडीबाट मतदान गर्न नपाउने भएका हुन् ।
मतदाता नामावलीमा नाम भएकाहरुले मात्रै भोट हाल्न पाइने भएकाले गोसाईले भोट हाल्न नपाउने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । उम्मेदवार भएपनि जुन जिल्लामा नामावली छ त्यसै जिल्लाबाट मतदान गर्न पाइने फुँयालले बताए ।
पार्टीको संगठन निर्माणका लागि आफूले उम्मेदवारी दिएको र भोट भक्तपुरबाटै हाल्ने उम्मेदवार गोसाईले बताए । नेपाल मजदुर किसान पार्टी एमसीसी, एसपीपी र नागरिकता विधेयकको विपक्षमा रहेकाले पार्टीको प्रचारका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । उनले भने‘हामीले हाम्रो पार्टीको एजेण्डाका बारेमा नागरिकलाई बताउन उम्मेदवारी दिएका हौं । एकै चुनावमा जितिहालिन्छ भन्ने होइन् । हामी संगठन निर्माणको अभियानमा छौं ।’
तिहारपछि प्रचारप्रसारका लागि बैतडी पुग्ने बताएका गोसाईले मतदान गर्न भने भक्तपुर फर्कने बताए । बैतडीमा प्रतिनिधि सभाको १ सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् ।




