Sagun Khabar
बैतडीको मेलौली  नगरपालिकामा तालाबन्दी

बैतडी- बैतडीको मेलौली  नगरपालिकामा तालाबन्दी गरिएको  छ । १५  शैय्याको  अस्पताल तोकिएको  ठाउँमा निर्माणको  माग गर्दै  वडा नं १ का  स्थानीयहरुले  बिहीबार  पालिकामा तालाबन्दी गरेका हुन् । 

अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि  पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउने चलखेल गर्न  खोजेपछि  पुरानै ठाउँमा अस्पताल बन्नु पर्ने माग गर्दै तालाबन्दी गरिएको  स्थानीय  दशरथ नायकले जानकारी दिए ।

अस्पताल निर्माणका लागि जग्गादान गर्ने  जग्गादाता  र अन्य स्थानीयहरुले तालाबन्दी गरेका बताइएको  छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनि जग्गादान भसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोसित  स्थानीयहरुले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा , शिक्षा शाखा लगायतका अन्य शाखाहरुमा ताला बन्दी गरेका स्थानीय नायकले बताए ।

पालिकाको  जननिर्वाचित  प्रतिनिधि पुरानो  ठाउँमा अस्पताल निर्माण गर्ने  निर्णयमा नपुग्दा सम्म तालाबन्दी नखुल्ने स्थानीयहरुको भनाइ छ । यता नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख  नारायण चन्दले पनि  स्थानीयहरुले  वडा नं  १ मा आधारभूत  अस्पताल  निर्माण हुनु पर्ने माग गर्दै  ताला लगाएका बताए  ।  वडा नं  १ र  ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएपनि  कुन ठाउँमा बनाउने  निर्णय  भने भइनसकेको  पालिकाले  जनाएको  छ । 

 संघीय सरकारले  २०७० सालमा मेलौलीमा  १५  शैय्याको  अस्पताल निर्माणका लागि  निर्णय गरेपनि अहिले  सम्म  विवादकै  कारण बन्न सकेको  छैन् ।

यता वडा नं. ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमा १५ शैय्याको अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update