बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक आएसंगै उम्मेदवारहरुले घरदैलो अभियान गरिरहेका छन् । बैतडीमा प्रतिनिधि सभाको १ सीटका लागि ११ जना चुनावी मैदानमा छन् ।
११ जना चुनावी मैदानमा भएपनि लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् । दुई पटक चुनाव जितिसकेका उनी तेश्रो पटक जित हासिल गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन् ।
यस्तै लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । उनी नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ पाएर चुनावी मैदानमा होमिएका छन् ।
२०७४ सालको निर्वाचनमा भने भिन्न परिस्थती रहेको थियो । त्यो बेला एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन भएको थियो । एमालेका भण्डारी त्यो बेला साझा उम्मेदवार रहेका थिए । तर अहिले परिस्थती अर्कै भएको छ । त्यो बेला भण्डारीको चुनावी प्रचारप्रसार समितिका संयोजक नरेन्द्र कुँवर अहिले भण्डारीसंगै प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्ट त्यो बेला एमालेमै रहेका थिए । अहिले भट्ट पनि कुँवरको साथमा देखिएका छन् ।
नेकपा एमालेका भण्डारी अहिले एक्लै चुनावी मैदानमा छन् भने माओवादी केन्द्रका कुँवर नेपाली कांग्रेस र एकीकृत समाजवादीको समेत साथ पाएर चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालमा भण्डारी एमाले र माओवादीको बाम गठबन्धनबाट विजयी भएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र कुँवर (विजयसुन्दर)ले टिकट पाएपछि नेपाली कांग्रेसका केशवबहादुर चन्द बागी उठेका छन् । उनको उम्मेदवारीले गठबन्धनको मत केही प्रभावित हुने आँकलन गरिएको छ । तर प्रतिनिधि सभा सदस्यकै लागि उम्मेदवारी दिएका एकीकृत समाजवादीका नेता परमानन्द भट्टले भने गठबन्धनका उम्मेदवारलाई सघाउने गरेर उम्मेदवारी फिर्ता लिइसकेका छन् । गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफू चुनाव प्रचारप्रसारमा खटिने भट्टले बताए । उनले भने ‘गएको निर्वाचनमा नरेन्द्रजी र म दुवै जना भण्डारीजीको प्रचारप्रसारमा खटेर लागेको थियौं । अहिले परिस्थती फरक भएको छ । नरेन्द्रजी आँफै उम्मेदवार हुनुहुन्छ । म नरेन्द्रजीको पक्षमा छु ।’
यता एमालेले पनि गठबन्धन भित्रको किचलोको फाइदा उठाउने रणनीति बनाएको छ । गठबन्धन भित्रकै किचलोका कारण एमालेलाई फाइदा हुने एमालेकै नेताहरुले पनि बताएका छन् ।
प्रतिनिधि सभामा मात्रै नभएर दुवै प्रदेश सभामा समेत जित हाँसिल गर्ने एमाले उपसचिव लोकेन्द्र भण्डारीले बताए । स्थानीय तहको निर्वाचनमा समेत कांग्रेस र माओवादीबीच गठबन्धन भएको र गठबन्धन गरेका ठाउँमा एमाले बलियो देखिएकाले गठबन्धनले कुनै फरक नपार्ने भण्डारीको दाबी छ ।
अहिले पार्टी एकतबद्ध भएर चुनावी मैदानमा होमिएकाले जित सुनिश्चित भएको भण्डारीले जिकिर गरे । उनले भने ‘हामी अहिले एकताबद्ध भएर चुनावी अभियानमा खटिएका छौं । हामीलाई गठबन्धनले कुनै फरक पर्दैन् । गठबन्धनभित्रको किचलोले पनि हामीलाई फाइदा भएको छ ।’
गठबन्धनका साझा उम्मेदवारको रुपमा रहेका नरेन्द्र कुँवर (विजयसुन्दर)ले अहिले गठबन्धन चुनावका लागि मात्र नभएको, प्रणाली र संविधानको रक्षाका लागि भएकाले गठबन्धन दलका नेता कार्यकर्ताहरुले आफूलाई भोट दिने दाबी गरे । उनले भने ‘अहिले परिवर्तनलाई आत्मसात गर्ने शक्तिहरुकाबीचमा गठबन्धन भएको हो । हामी यो प्रणालीलाई जोगाउनका लागि गठबन्धन सहित चुनावी मोर्चामा आएका छौं । यसलाई मतादाताहरुले राम्रोसंग बुझेको छ ।’




