Sagun Khabar
बैतडीमा लोकतान्त्रिक –बाम गठबन्धन पालिकास्तरीय बैठकमा व्यस्त 

बैतडी –नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको बैतडीमा गठबन्धन रहेको छ । उनीहरुले आफ्नो गठबन्धनलाई लोकतान्त्रिक –बाम गठबन्धन भनेका छन् । लोकतान्त्रिक –बाम गठबन्धनको जिल्लास्तरीय बैठक र प्रदेश सभा क्षेत्रस्तरीय बैठक सम्पन्न भएपछि अहिले पालिकास्तरीय बैठकमा गठबन्धनले जोड दिएको छ । 

गठबन्धनको उद्देश्य, गठबन्धनका चुनावी रणनीति लगायतका बिषयमा तल्लोस्तरसम्म जानकारी दिन अहिले पालिकास्तरीय बैठक भइरहेका नेपाल तरुण दलका बैतडी उपाध्यक्ष महेशदत्त भट्टले बताए । गठबन्धन भित्र रहेका दलहरु संयुक्त बैठक गरेर चुनावी रणनीति तयार पार्ने र प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिने काम भइरहेको उनले बताए । 

जिल्लाको देहीमाण्डौंमा प्रदेश सभा क्षेत्र नम्बर (ख) र पाटनमा प्रदेश सभा क्षेत्र नम्बर (क)को बैठक सम्पन्न भएपछि अहिले प्रत्येक पालिकामा लोकतान्त्रिक बाम गठबन्धनको बैठक चलिरहेको भट्टले बताए । 

अहिले सम्म पाटन नगरपालिका, दशरथचन्द नगरपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा गठबन्धनले बैठक सम्पन्न गरिसकेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । 

गठबन्धनका साझा उम्मेदवारलाई जिताउने भन्दै उनीहरु अहिले प्रचारप्रसारमा जुटेका छन् । बैतडीमा संघीय सांसदका लागि गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर रहेका छन् । 

यस्तै प्रदेश सभा क्षेत्र नम्बर (क)मा नेपाली काँंग्रेसका बिरबहादुर बिष्ट र प्रदेश सभा क्षेत्र नम्बर (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् । 

गठबन्धनभित्रै नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएपछि पार्टी पंक्तिलाई गठबन्धनका पक्षमा लाग्न समेत बैठकहरुले निर्देशन दिने गरेको तरुण दलका उपाध्यक्ष भट्टले बताए । पार्टीको निर्णय विरुद्ध लाग्ने नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने उनले दाबी समेत गरे ।  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update