बैतडी –संस्कृति संरक्षणको अभियानमा रहेको रेडियो निङ्गलाशैनीले तिहारको समयमा देउसी भैलोको आयोजना गर्ने भएको छ । विभिन्न पालिकाहरुसंगको सहकार्यमा यही कार्तिक ६ गतेदेखि देउसी भैलो कार्यक्रम आयोजना गर्ने तयारी भएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए ।
संस्कृति संरक्षणका लागि स्थानीय तहहरुसंगको सहकार्यमा देउसी भेलौ कार्यक्रमको आयोजना गर्न लागिएको हो । बिशेष सांस्कृतिक प्रस्तुती सहित देउसी भैलोको आयोजना गर्ने निर्णय भएको उनले बताए ।
कार्तिक ६ गते सुर्नया गाउँपालिकास्थित रौलेश्वर माविमा देउसी भैलो कार्यक्रमको आयोजना हुने भएको छ भने कार्तिक ७ गते पाटन नगरपालिकाको पाटन बजारमा देउसी भैलो कार्यक्रमको आयोजना हुनेछ ।
यस्तै कार्तिक ८ गते दोगडाकेदार गाउँपालिकाको खोचलेकमा कार्यक्रमको आयोजना गरिनेछ भने कार्तिक ९ गते दशरथचन्द नगरपालिकाको गोठलापानी बजारमा देउसी भैलो कार्यक्रमको आयोजना गरिनेछ ।
रेडियो निङ्गलाशैनीले आयोजना गर्ने देउसी भैलो कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । पालिकाहरुमा देउसी भैलोको कार्यक्रम आयोजना पछि नजिकका बजारहरुमा समेत देउसी भैलो खेलिने भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको हो ।




