Sagun Khabar
मेयरमा पराजित राप्रपा नेपालका चन्द चुनावी मैदानमा, बन्लान् त प्रदेश सांसद ?  

बैतडी –राप्रपा नेपालका तर्फबाट बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) का उम्मेदवार प्रेमबहादुर चन्दले चुनाव जित्ने दाबी गरेका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै उम्मेदवार चन्दले मतदाताहरुले ठूला दलहरुको विकल्प खोजेकाले आफूले चुनाव जित्ने दाबी गरेका हुन् । 

गएको स्थानीय तहको निर्वाचनमा पाटन नगरपालिकाको मेयरमा पराजित भएका चन्दले प्रदेश सांसदमा भने चुनाव जित्ने ठोकुवा गरेका छन् । पाटन नगरपालिका प्रदेश सभा क्षेत्र नम्बर (क) मा पर्दछ । तर चन्द अहिले प्रदेश सभा क्षेत्र नं.(ख)बाट उम्मेदवार बनेका छन् । पार्टीको नेतृत्व गर्ने बेला आफू लामो समयसम्म सदरमुकाममा बसेको र कार्यकर्ताहरुको सुझाव अनुसार क्षेत्र नम्बर (ख)बाट चुनाव लडेको उनले बताए । 

घरदैलो अभियानमा रहेका चन्दले मतदाता अहिले परिवर्तन भइसकेकाले संगठनको आधारमा नभइ उम्मेदवारको कुशलताका आधारमा मतदाताले मतदान गर्ने बताए । उनले भने ‘अहिले मतदाता परिवर्तन भइसकेका छन् । अमुक पार्टीले मात्रै जित्छ भन्ने होइन । उम्मेदवारको एजेण्डाका आधारमा मतदाताले मतदान गर्छन् ।’

प्रदेश सभा सदस्यका लागि आफूले स्पष्ट योजना सहित उम्मेदवारी दिएकाले आफूले चुनाव जित्ने चन्दको दाबी छ । हिन्दू राष्ट्र स्थापनाको मागबाट आफ्नो पार्टी पछाडि नहटेको समेत उनले बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेको प्रति आफू असन्तुष्ट रहेको चन्दले बताए । 
बैतडीको प्रदेश सभा क्षेत्र नम्बर (ख)मा प्रदेश सांसदका लागि ५ जना चुनावी मैदानमा रहेका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका शिवराज भट्ट, एमालेका तर्फबाट लिलाधर भट्ट, राप्रपाका तर्फबाट नारायणदत्त जोशी, राप्रपा नेपालका तर्फबाट प्रेमबहादुर चन्द र नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा चुनावी मैदानमा रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update