बैतडी–बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा तिहारसंगै खर काट्ने चटारो बढेको छ । हिउँदमा गाईवस्तुहरुलाई खुवाउनका लागि खर काटेर थुपार्ने चलन अनुसार खर काट्ने चटारो बढेको सुर्नया गाउँपालिका ६ का स्थानीय कमला अवस्थीले बताइन् । उनले भनिन् ‘असोज पहिलो सातादेखि नै खर काट्ने क्रम शुरु भएपनि अझै पनि जारी रहेको छ ।’
यो बर्ष असोज अन्तिम साता परेको बर्षाले केही ठाउँमा काटेको खरमा नोक्सानी पुगेको सुर्नया ३ की कमला भट्टले बताइन् । बर्षाका कारण खरमा केही क्षति पुगेको उनले बताइन् ।
सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाहरुले हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि असोज कार्तिकमा खर काटेर थुप्रो बनाउने गरेका छन् । कुन्युमा थुप्रो बनाएको खरलाई हिउँदको समयमा गाईवस्तुलाई खुवाउने गरिन्छ । तर यो बर्ष खरमा क्षति पुगेकाले समस्या हुन सक्ने स्थानीयहरुले बताएका छन् ।
गाउँघरमा तिहारको रौनकसंगै खर काट्ने चटारो समेत बढेको स्थानीयहरुले बताएका छन् । यो बर्ष चुनाव पनि भएकाले गाउँघरमा चुनावी चहलपहल समेत बढेको छ । राजनीतिक दलका नेताहरु भोट माग्न गाउँगाउँमा पुगेका भएपनि स्थानीयहरु भने काममै व्यस्त रहेका छन् ।




