Sagun Khabar
बैतडीमा कृषि ज्ञान केन्द्र र पालिकाहरुले गहुँको बीउ अनुदानमा वितरण गर्दै 

बैतडी – बैतडी जस्ता मध्य पहाडी जिल्लाहरुमा गहुँ छर्ने समय भएको छ । सिँचाई सुविधा नभएका लेकाली क्षेत्रहरुमा गहुँ छर्ने कार्यमा किसानहरु व्यस्त रहेका छन् । विगतका बर्षहरुमा पहेँलो सिन्दुरे रोगले गहुँमा क्षति पुर्याएका कारण कृषि ज्ञान केन्द्र र केही पालिकाहरुले ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न थालेका छन् । 

किसानहरुले माग गरे अनुसार ५० प्रतिशत अनुदानमा डब्लु के १२०४ जातको गहुँको बीउ वितरण भइरहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्र चन्दले बताए । जिल्लाका किसानहरुलाई अनुदानमा गहुँको बीउ वितरणका लागि सूचना आह्वान गरेको र सोही सूचनाका आधारमा माग गरेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण भइरहेको उनले बताए । 

यस्तै पाटन नगरपालिकाले पनि १० ओटै वडाका किसानहरुलाई गहुँको बीउ अनुदानमा वितरण गरिरहेको छ । ५० प्रतिशत अनुदानमा माग गरेका किसानहरुलाई गहुँको बीउ वितरण गर्ने कार्य भइरहेको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

डब्लु के १२०४ जातको गहुँमा सिन्दुरे रोग नलाग्ने भएकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा सो बीउ उपलब्ध गराउन थालिएको उनले बताए । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले तोकेको ठाउँबाट बीउ खरीद गरी किसानहरुलाई प्रति केजी ३६ रुपैंयाका दरले बीउ वितरण भइरहेको अवस्थीले बताए । प्रतिकेजी ७२ रुपैैंयाका दरले गहुँको बीउ खरीद गरिएको भएपनि ५० प्रतिशत लगानि नगरपालिकाले व्यहोर्ने उनले बताए । 

यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाले पनि ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । किसानहरुले माग गरे अनुसार ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गर्ने कार्य भइरहेको नगरपालिकाले जनाएको छ । 

बैतडीमा झण्डै १८ हजार हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । किसानहरुले लगातार पुरानो बीउ प्रयोग गर्दै आएकाले गहुँमा रोग देखिने भएकाले उन्नत जातको बीउ प्रयोग गर्न कृषि प्राविधिकहरुले सुझाव दिएका छन् । 

गहुँ छर्नु अघि जमीनलाई राम्रोसंग खनजोत गर्नुपर्ने, गोबरमल हालेर खनजोत गरेमा राम्रो हुने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update