Sagun Khabar
पालिका चुनावमा २६ मतले हारेका बिष्ट प्रदेश सांसदमा बाजी मार्लान त ? 

बैतडी –प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिक आएका बेला बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क) मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन दलहरुभित्रै बागी र गठबन्धन दलकै सहयात्री दलले समेत उम्मेदवारी दिएपछि यो क्षेत्रको चुनाव रोचक हुने देखिएको हो । 

गठबन्धन दलहरु एक ठाउँमा भएका भए यो क्षेत्रमा गठबन्धन बलियो भएपनि अहिले गठबन्धन भित्रै बागी उम्मेदवार र एकीकृत समाजवादीका उम्मेदवार पनि चुनावी मैदानमा भएकाले कसको पक्षमा नतिजा आउने कुराको आँकलन गर्न नसकिएको बिश्लेषकहरुले बताएका छन् । 

सत्ता गठबन्धन दलभित्रै रहेको एकीकृत समाजवादीका केन्द्रिय सदस्य नरेन्द्र बिष्टले प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएर उनी अहिले चुनावी मैदानमा उत्रेका छन् । गठबन्धन दलहरुले एकीकृत समाजवादीलाई बैतडीमा नसमेटेपछि मित्रवत प्रतिस्पर्धा गर्ने पार्टीको निर्णय अनुसार आफू चुनावी मैदानमा होमिएको बिष्टले बताए । उनले भने ‘गठबन्धनको मर्म अनुसार टिकट वितरण नभएपछि हाम्रो पार्टीले यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार म चुनावी मैदानमा उत्रेको छु ।’

गएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुर्नया गाउँपालिकाको अध्यक्षमा पदमा उम्मेदवार बनेका बिष्ट एमालेका अम्मरबहादुर कुँवरसंग २६ मतले मात्रै पराजित भएका थिए । एमालेका कुँवरले २ हजार ३५० मत ल्याउँदा उनले २ हजार ३२४ मत ल्याएका थिए । 

स्थानीय तहको निर्वाचनमा मतदाताहरुले दिएको मतको सम्मान स्वरुप नै आफू प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा उत्रेको बिष्टले बताए । उनले भने ‘मतदाताहरुको मायाले फेरी चुनावी मैदानमा आएको छु । मतदाताहरुले न्याय गर्नेछन् भन्ने विश्वास छ ।’

नेकपा एमालेको जिल्ला अध्यक्ष समेत भइसकेका बिष्ट अहिले एकीकृत समाजवादीमा भएपनि केही एमालेजनहरुको मत पनि पाउने उनले आसा गरेका छन् । उनले भने ‘मेरो पार्टीको मात्रै नभएर अन्य दलका साथीहरुको सहयोगले पनि म यो चुनावमा जित हासिल गर्छु । धेरै पटक अरुलाई जिताउनका लागि मैले पहल गरे । अहिले म आँफै मैदानमा आएको छु । साथीहरुले मलाई सहयोग गर्लान भन्ने विश्वास छ ।’

यो चुनावमा बैतडी प्रदेश सभा क्षेत्र नम्बर (क) मा अर्को संयोग पनि जुरेको छ । नेपाली कांग्रेसबाट प्रदेश सभा चुनावका लागि मैदानमा रहेका बिरबहादुर बिष्ट र एकीकृत समाजवादीका नरेन्द्र बिष्ट ५ बर्षपछि आम्नेसाम्ने भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दुवै जना सुर्नया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवार बनेका थिए । त्यो बेला कांग्रेसका बिष्टले पालिका अध्यक्षमा जित हासिल गरेका थिए । एकै गाउँका दाजुभाइ समेत रहेका दुवै जना अहिले एकै पदका लागि चुनावी मैदानमा उत्रेका छन् । 

बिरबहादुर बिष्ट नेपाली कांग्रेसबाट चुनावी मैदानमा रहेपनि कांग्रेसबाटै हरिमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनले बिष्टको मत काट्ने आँकलन गरिएको छ । तर कांग्रेसले भने आधिकारिक उम्मेदवार बाहिर मत नजाने बताएको छ । यता एकीकृत समाजवादीबाट नरेन्द्र बिष्ट पनि प्रदेश सांसदका लागि चुनावी मैदानमा छन् । उनको उम्मेदवारीले पनि  गठबन्धन दलहरुलाई कमजोर बनाएको छ । 

प्रदेश सभा क्षेत्र नम्बर (क)का लागि ६ जना चुनावी मैदानमा रहेका छन् । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका बिरबहादुर बिष्ट, एमालेका सुरेन्द्रबहादुर पाल, एकीकृत समाजवादीका नरेन्द्र बिष्ट, राप्रपाका रणबहादुर बिष्ट, राप्रपा नेपालका कृष्णा पन्त र स्वतन्त्रबाट हरिमोहन भण्डारी चुनावी मैदानमा उत्रेका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update