बैतडी –गठबन्धन दलहरुले तिहारको उपलक्ष्यमा आइतबार बैतडीका ८४ ओटै वडामा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने भएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत ध्यानमा राखेर गठबन्धन दलहरुले चियपान तथा शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए ।
जिल्लाका ८४ ओटै वडामा लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिने कुँवरले बताए । गठबन्धनमा सहभागी दलका स्थानीय कमिटिहरुले कार्यक्रमको आयोजना गर्ने उनले बताए ।
चियपान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा गठबन्धन दलका तर्फबाट उम्मेदवारहरुलाई जिताउनका लागि आग्रह गरिने समेत कुँवरले बताए ।
प्रत्येक वडामा चियापान तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएकाले सबै वडामा त्यसको तयारी समेत भएको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर (ख)का क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । चुनावी प्रचारप्रसारकै अभियानमा रहेका बेला तिहारको उपलक्ष्यमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए ।
बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् ।




