काठमाण्डाै - आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ ।
काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झना गर्दै कागलाई सन्देशवाहक पक्षीका रूपमा विभिन्न परिकार तथा मिठाइ राखिदिएर बोलाउने गरिन्छ।
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाइदिई मखमली र सयपत्री फूलको माला लगाइदिएर सगुन खान दिने प्रचलन छ।




