बैतडी- बैतडीमा राष्ट्रिय आरोग्य दिवस मनाईएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले स्वस्थ पर्यावरण र समुन्नत स्वास्थ्यका लागी आयुर्वेद भन्ने मुल नाराका साथ आइतबार धन्वन्तरी जयन्ती तथा राष्टिय आरोग्य दिवस मनाएको हो ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती तथा आरोग्य दिवस यो वर्ष पनि पुजापाठ साथै आरोग्य प्राप्तिका लागि दैनिक गरिने योग ध्यान नृत्य गरेर आरोग्य दिवस मनाईएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले जानकारी दिए ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनताम वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि यो दिनलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा पनि मनाउँदै आएका छन् ।




