Sagun Khabar
बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुल्यो

बैतडी- बैतडीको मेलौली नगरपालिकामा लागेको ताला खुलेको छ । गत बिहीबार देखि लागेको ताला आइतबार खुलेको हो । नगरप्रमुख भिम बहादुर चन्द सहित कार्यपालिका सदस्य र तालाबन्दी गर्ने पक्षबीच भएको छलफलमा आम निर्वाचन पछि कार्यपालिका बैठकमा अस्पताल निर्माणबारे निर्णय गर्ने सहमती जुटेसँगै ताला खुलेको हो ।

आम निर्वाचन पछि कार्यपालिका बैठकमा अस्पताल विवाद बारे  निर्णय गर्ने सहमती जुटेसँगै ताला खोलेका वडा नं १ का स्थानीय दशरथ नायकले बताए । १५ शैय्याको अस्पताल तोकिएको  ठाउँमा निर्माणको माग गर्दै वडा नं १ का स्थानीयहरुले गत बिहीबार पालिकामा तालाबन्दी गरेका थिए । 

स्थानीयहरुले आधारभूत अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउने चलखेल गर्न खोजेको भन्दै तालाबन्दी गरेका थिए । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भएपनि कुन ठाउँमा बनाउने निर्णय भइनसकेको र प्रतिनिधि र प्रदेश सभा निर्वाचन पछि अस्पताल निर्माण बारे निर्णय गरिने नगरपालिकाक नगर प्रमुख भिम बहादुर चन्दले बताए ।  

संघीय सरकारले २०७० सालमा मेलौलीमा १५ शैय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिले सम्म विवादकै कारण बन्न सकेको छैन् । यता वडा नं ७ का बासिन्दाहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमा १५ शैय्याको अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । आवश्यकताका आधारमा  अस्पताल निर्माण गर्न  स्थानीयहरुले माग गरिरहेका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update