बैतडी- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बैतडी आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा सञ्चालन हुने बृहत चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बैतडी आउन लाग्नु भएको एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख लोक बहादुर भण्डारीले जानकारी दिए ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राखिएको चुनावी आमसभालाइ उहाँले सम्बोधन गर्ने बताइएको छ । कार्यक्रम पाटनको खुलामञ्चमा हुने छ । दार्चुलामा हुने कार्यक्रमलाई सम्बोधन गरेर सोही दिन अध्यक्ष ओलीले पाटनको चुनावी आमसभालाई पनि सम्बोधन गर्ने नेकपा एमाले बैतडीले जनाएको छ । एमालेले संसदीय चुनावलक्षित चुनावी अभियान दार्चुलाबाट थाल्ने भएको छ ।
कात्तिक १८ गते दार्चुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान शुरु गरिहेका हुन् । चुनावलक्षित राष्ट्रव्यापी चुनावी अभियानको पहिलो आमसभा दार्चुलामा हुने र त्यसपछि पार्टी अध्यक्ष बैतडी आइपुग्ने बैतडीमा एमालेबाट आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारीले जानकारी दिए ।
सोही दिन ओलीले बैतडीको पाटनमा आयोजित चुनावी आमसभा सम्बोधन गरे कञ्चनपुर जाने बताइएको छ । बैतडीमा चुनावी सरगर्मी बढेको छ । भण्डारी तेस्रोपटक चुनाव जित्ने रणनीतिका साथ चुनावी मैदानमा छन् ।




