बैतडी- बैतडीको डिलाशैनी गाउँपालिको केन्द्रमा विद्युत विस्तार गरिएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन गाउँपालिकाको केन्द्रमा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोश प्रकाश जोशीले जानकारी दिए ।
हिजो लक्ष्मी पुजाका दिन धामी गाउँमा बिजुली बलेको उनले बताए । धामी गाउँ लगायत आसपासका क्षेत्रमा बिजुली पुगेको बताइएको छ । वडा नं. ७ अन्तर्गत पर्ने धामीगाउँ, बशन्तपुरलगायत गाउँमा ११ केभीको प्रशारण लाइनमार्फत बिजुली पुगेपछि निक्कै खुसी लागेको स्थानीय दीपक जोशीले बताए ।
लामो समय देखि अन्धकारमा रहेका बस्तीमा तिहारकै बेला बिजुली बलेपछि खुसी लागेको उनको भनाई छ । गाउँपालिकाले उज्यालो डिलाशैनी अभियान अन्तर्गत विद्युत विस्तार कार्यमा तिब्रता दिएको छ ।
यस अघि वडा नं ५ को कार्यालय सम्म विद्युत विस्तार गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन वडा नं ५ र गाउँपालिका केनद्रमा समेत बिजुली पुगिसकेको छ । अब पालिकाका अन्य वस्तीमा पनि विद्युत विस्तार भइरहेको बताइएको छ ।पालिकाका विद्युत विस्तार नभएका सबै वडाहरुमा विद्युत विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता यज्ञ राज भट्टले बताए ।
जनप्रतिनिधिहरुले चुनावमा गरेका वाचा अनुसार काम गर्न थालेपछि त्यहाँका नागरिकहरु हर्षित भएका छन् ।




