बैतडी- बैतडीमा १३ सय ७३ जना अस्थायी मतदाता, जिल्ला कारागारमा मतदान केन्द्र मा १३ सय ७३ जना अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी माधप प्रशाद फुँयालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी, सरकारी कर्मचारी र कैदीबन्दी गरेर जिल्लामा १३ सय ७३ जना अस्थायी मतदाता रहेका हुन् ।
कुल १ लाख ५० हजार १ सय ५६ स्थायी मतदाता रहेको बैतडीमा १३ सय ७३ अस्थायी मतदाता रहेका उनले बताए । जिल्ला भन्दा बाहिर घर भइ बैतडीमा सरकारी कर्मचारीको रुपमा काम गरिरहेकाहरुको नाम अस्थायी मतदाताको लिष्टमा रहेको उनले प्रष्ट पारेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अस्थायी मतदाताहरुका लागि जिल्ला कारागारमा मतदान केन्द्र राखिएको बताइएको छ । निर्वाचनमा खटिनेले खटिएको मतदान केन्द्रबाट मतदान गर्न पाउने र निर्वाचनमा नखटिने जिल्लाका कर्मचारीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र राखिएको निर्वाचन अधिकारी फुयाँलले बताए ।
मतदाता परिचय पत्र सहितको पूर्ण विरण दिएका १३ सय ७३ जनाको अस्थायी मतदाता नामावली बनाइएको उनले बताए ।अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र राखिएका छन् । यस्तै बैतडीमा ७५ हजार २७८ महिला, ७४ हजार ८०६ पुरुष र २ जना अन्य गरि १ लाख ५० हजार १ सय ५६ मतदाता रहेका छन् ।




