बैतडी –तिहारको अवसरमा रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जले आयोजना गरेको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । कार्तिक ६ गतेदेखि शुरु भएको देउसी भैलो कार्यक्रम सम्पन्न भएको हो ।
संस्कृति संरक्षण गर्ने अभियानका साथ देउसी भैलो कार्यक्रमको आयोजना गरिएको रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीले बताए । देउसी भैलो लोप हुन लागेकाले मिडियाका तर्फबाट देउसी भैलो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
रेडियो निङ्गलाशैनीले जिल्लाको सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका विभिन्न स्थानमा पुगेर देउसी भैलोको आयोजना गरेको हो ।
स्थानीय तहहरुसंगको सहकार्यमा देउसी भैलोको आयोजना गरिएको हो । स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको देउसी भैलोले संस्कृति संरक्षणका लागि योगदान पुर्याएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने ‘मिडियाका तर्फबाट आयोजना भएको यस्तो कार्यक्रमले संस्कृति संरक्षणमा केही टेवा पुग्नेछ । यस्ता खालका कार्यक्रममा गाउँपालिकाको समेत सहयोग रहन्छ ।’
दशरथचन्द नगरपालिकाको गोठलापानीमा आयोजना भएको देउसी भैलो कार्यक्रममा बोल्दै दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले देउसी भैलो कार्यक्रमले संस्कृति संरक्षणमा सहयोग पुगेको बताए ।
रेडियो निङ्गलाशैनीले आयोजना गरेको देउसी भैलोले संस्कृति संरक्षणका लागि र स्थानीयहरुलाई संस्कृतिप्रति जागरुक गराउनका लागि सहयोग पुगेको दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘रेडियो निङ्गलाशैनीले आयोजना गरेको देउसी भैलो कार्यक्रमले संस्कृतिप्रतिको जागरुकता बढेको छ । यसले समाजमा सकारात्मक सन्देश दिएको छ ।’
देउसी भैलो कार्यक्रमले चाडपर्वको समयमा सबैलाई मिलन गराएको भन्दै यस्ता कार्यक्रमको निरन्तरता दिनुपर्नेमा दोगडाकेदार गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले जोड दिए । उनले भने ‘हाम्रा सांस्कृतिक पर्वहरुलाई जोगाउन यस्ता खालका कार्यक्रम आयोजना गर्नु राम्रो हो । यसले संस्कृति संरक्षणमा सहयोग पुग्नेछ ।’
यस्तै दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले तिहारको समयमा खेलिने देउसी भैलो कार्यक्रमले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
रेडियो निङ्गलाशैनीले आयोजना गरेको देउसी भैलोले सबैलाई सकारात्मक सन्देश दिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जले चार दिन सम्म आयोजना गरेको देउसी भैलो कार्यक्रममा विभिन्न ठाउँबाट कलाकारहरु सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।




