Sagun Khabar
बैतडीका संकटग्रस्त घोषणा भएका पालिकाहरुमा कार्यक्रम सञ्चालन नभएको गुनासो 

बैतडी –गएको कार्तिकमा परेको बेमौसमी बर्षाले क्षति पुर्याएका ठाउँमा सरकारले केही सहयोग नगरेको स्थानीयहरुले गुनासो गरेका छन् । बर्षाका कारण आएको बाढी र पहिरोले क्षति पुर्याएका ठाउँमा बर्ष दिन सम्म कुनै राहतका कार्यक्रम सञ्चालन नभएको स्थानीयहरुले गुनासो गरेका छन् । 

सरकारले बैतडीका सिगास र शिवनाथ गाउँपालिकालाई संकटग्रस्त पालिका घोषणा गरेको भएपनि घोषणामै सीमित रहेको स्थानीयहरुको भनाइ छ । बाढी र पहिरोका कारण लाखौंको क्षति भएपनि सरकारी घोषणा कागजमै सीमित रहेको सिगासका स्थानीय पदम साउँदले जानकारी दिए । उनले भने ‘बाढी पहिरोले क्षति पुर्याएको एक बर्ष भइसकेको छ । तर पीडितका समस्या समाधानका लागि केही पहल भएको छैन् ।’

गएको बर्ष कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले ४ जनाको ज्यान जानुका साथै लाखौंको क्षति भएको थियो । बर्षाका कारण खेतबारी गुमाएकाहरुले समेत केही राहत नपाएको साउँदले जानकारी दिए । 

बाढी –पहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्रीले समेत भ्रमण गरेका थिए । तर प्रभावित क्षेत्रका लागि अपेक्षाकृत कार्यक्रम सञ्चालन नभएको साउँदले गुनासो गरेका छन् । 

चुनाव नजिक आएका बेला अहिले उम्मेदवारहरु घरदैलो अभियानमा रहेका छन् । उनीहरुले विभिन्न खालका आश्वासन बाँडीरहेका भएपनि नागरिक भने विश्वस्त हुन नसकेका स्थानीय पदम रोकायाले बताए । विगतमा बाढी पहिरो प्रभावितहरुलाई दिएका आश्वासन पूरा नभएकाले नागरिक निराश बनेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update