बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका प्रकाशचन्द्र भट्टले बैतडीका मतदाताले मत परिवर्तन गर्ने बताएका छन् । उम्मेदवारको सम्पर्क कार्यालय बैतडीको मुस्याचौरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाताहरुले नयाँ अनुहार चुन्न खोजेकाले आफ्नो जित हुने दाबी गरे ।
अहिले सम्म चुनाव जितेका ठूला पार्टीका प्रतिनिधिहरुले जनताका लागि केही गर्न नसकेको बताउँदै उम्मेदवार भट्टले मतदाताहरुले परिवर्तन चाहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले भने ‘हामीले घरदैलो अभियानमा जाँदै गर्दा मतदाताको अपार माया पाएका छौं । हामीले गर्न सक्ने काम मात्रै भनिरहेका छौं । त्यसैले मतदाताहरुले हामीलाई मत दिने कुरामा विश्वस्त रहेका छौं ।’
नागरिकका आधारभूत समस्या समेत पहिलेका जनप्रतिनिधिहरुले समाधान नगरेकाले मतदाताले अहिले नयाँ प्रतिनिधिलाई छान्ने उनले बताए । ठूला भनिने पार्टीहरुले पुरानै अनुहारलाई उम्मेदवार बनाएकाले आफूले चुनाव जित्ने उनको दाबी थियो ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशी (क्वालिटी)ले आफूहरुको घरघरमा संगठन रहेको बताए । संगठन कमजोर भएको पार्टीले कसरी चुनाव जित्नु हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन रहेको दाबी गरे । बैतडी ५ देखि ७ हजार भोटले आफ्ना पार्टीका उम्मेदवारले चुनाव जित्ने उनको दाबी थियो ।




