बैतडी –नेपाली कांग्रेसको भातृसंस्था नेपाल दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई नेपाली कांग्रेसले स्पष्टीकरण सोधेको छ । आसन्न निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट विरुद्ध बागी उम्मेदवारी दिएका हरिमोहन भण्डारीको मुख्य प्रचारकको रुपमा रहेको भन्दै कोलीलाई स्पष्टीकरण सोधिएको हो ।
नेपाली कांग्रेस बैतडीको अनुशासन समितिका संयोजक देवराज जोशीद्वारा हस्ताक्षरित पत्रमा तीनदिन भित्र कोलीलाई स्पष्टीकरण पेश गर्न भनिएको छ । बागी उम्मेदवार हरिमोहन भण्डारीका पक्षमा लागेको भन्ने प्रमाण प्राप्त भएको र सो कार्य पार्टीको विधि र विधान विपरीत भएकाले कार्तिक १३ गतेभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।
स्पष्टीकरण पेश नगरेमा नेपाली कांग्रेसको विधान अनुसार कारवाही हुने स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ । बैतडीमा नेपाली कांग्रेसकै नेताहरुले गठबन्धन र कांग्रेसका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि बैतडीमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर उम्मेदवार रहेपनि कांग्रेस नेता केशवबहादुर चन्दले उम्मेदवारी दिएका छन् । यस्तै प्रदेश (क)मा कांग्रेसका आधिकारिक उम्मेदवार बिरबहादुर बिष्ट रहेपनि हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् ।
यसैबीच नेपाली कांग्रेसले गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा लाग्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस बैतडीले एक प्रेस विज्ञप्ती जारी गर्दै बागी उम्मेदवार, उनका समर्थक र प्रस्तावकहरुलाई ५ बर्षका लागि पार्टीले निष्कासन गरिसकेकाले पार्टीका आधिकारिक उम्मेदवारका पक्षमा लाग्न आग्रह गरिएको छ ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको निर्णय विपरीत जानेलाई कारवाही हुने समेत उल्लेख गरिएको छ ।




