Sagun Khabar
बलिउड अभिनेत्री साध्वी भोट माग्दै, बुवा शिवराजलाई जिताउन अपिल

बैतडी – बलिउड अभिनेत्री साध्वी भट्टले नेपाली कांग्रेसका लागि भोट माग्न थालेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले कांग्रेसका लागि भोट माग्न थालेकी हुन् । बैतडीको देहीमाण्डौंकी भट्टका बुवा शिवराज भट्ट अहिले नेपाली कांग्रेसबाट प्रदेश सभा (ख)मा उम्मेदवार रहेका छन् । बलिउड फिल्म ‘दि ड्रिम जब’ मार्फत् मुख्य भूमिकामा ‘डेब्यु’ गरेकी उनले बुवालाई भोट दिन अपिल गरेकी हुन् । 

सामाजिक सञ्जालमा आफ्ना बुवाको प्रचार सामग्री पोष्ट गरेर साध्वी भोट मागेकी छिन् । लामो समयदेखि कांग्रेसको राजनीतिमा रहेका शिवराज भट्टलाई जिताउन उनले अपिल समेत गरेकी छिन् । 

२०३६ देखि निरन्तर राजनीतिक परिवर्तन, सामाजिक, आर्थिक, शैक्षिक र समग्र विकासका लागि जनताको जनजीविका र राष्ट्रको स्वाधीनताका लागि संघर्ष गरिरहेको राजनीतिकर्मीका रुपमा आफ्ना बुवा शिवराज भट्टलाई भोट दिनुपर्नेमा साध्वीले जोड दिएकी छिन् । 

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भट्टका जेठा छोरा नेपालमै, छोरी साध्वी र कान्छा छोरा भारतको मुम्बईमा बस्दै आएका छन् । 

साध्वीले  पछिल्लो पटक आफ्ना बुवाको चुनावी प्रचारका लागि डोटेली भाषामा तयार गरिएको १ मिनेट लामो भिडिओ क्लिप सेयर समेत शेयर गरेकी छन् । साध्वीको ‘दि ड्रिम जब’ मा जुबेर कमल खान, दुर्गेश कुमार, विकास श्रीवास्तव, खुश्बु उपाध्याय, प्रसाद शिकरेलगायतका कलाकारले अभिनय गरेका छन् । उनी बलिउड फिल्म ‘बेसरम’ मा अभिनेता रणवीर कपुरसँग नृत्यमा देखिएकी थिइन् । 

साध्वी मुम्बईमा अभिनेता अनुपम खेरको इन्स्टिच्यूटबाट अभिनयमा डिप्लोमा गरेपछि बलिउड फिल्म उद्योगतिर लागेकी हुन् । पण्डित गणेशप्रसाद मिश्रबाट गायनमा दुईवर्षे प्रशिक्षण लिएकी साध्वी शास्त्रीय संगीतमा पनि दक्ष छिन् । 

जावेद अख्तर र ललित पण्डितको संगीतमा आधा दर्जन गीत गाएकी उनले दर्जनौं म्युजिक भिडियो र सर्ट फिल्महरूमा पनि काम गरिसकेकी छन् । उनको हिन्दी गीति एल्बम ‘पत्थर हुवा सोना’ टि–सिरिजले बजारमा ल्याएको थियो । साध्वीले अनुराग कश्यपको सहायक निर्देशक भएर समेत काम गरिसकेकी छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update