Sagun Khabar
बैतडीमा कांग्रेस नगर सहसचिव नै राप्रपा नेपालको उम्मेदवार, कांग्रेसले बल्ल गर्यो कारवाही

 बैतडी –नेपाली कांग्रेस बैतडीले पाटन नगरकार्य समितिका सह–सचिव कृष्णा पन्तलाई कारवाही गरेको छ । उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरेर कारवाही गरेको कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

पन्त आसन्न निर्वाचनमा राप्रपा नेपालका तर्फबाट प्रदेश सांसदका लागि उम्मेदवार बनेपछि उनलाई कारवाही गरिएको हो । नेपाली कांग्रेसको नगर कार्यसमितिका सहसचिव रहेकै बेला उनी राप्रपा नेपालबाट टिकट लिएर बैतडी प्रदेश सभा (क) क्षेत्रमा उम्मेदवार बनेकी छिन् । 

पार्टीको विधान विपरीत काम गरेकाले पन्तलाई कारवाही गरिएको सचिव जोशीले बताए । गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेसमा बैतडीमा भने खैलाबैला मच्चिएको छ । पार्टीको निर्णय विपरीत महाधिवेशन प्रतिनिधि केशवबहादुर चन्द र हरिमोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएपछि उनीहरुलाई समेत कारवाही गरिएको छ । दुवै जनालाई कांग्रेस केन्द्रिय समितिले कारवाही गरेको हो । 

गठबन्धनका उम्मेदवार विरुद्ध बागी उठेका चन्द प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका छन् भने भण्डारी प्रदेश सभा (क) क्षेत्रमा प्रदेश सभा सदस्यका लागि उम्मेदवार रहेका छन् । पार्टीकै नेताहरु बागी उठेपछि अहिले गठबन्धन भित्र निकै चुनौती देखिएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update