बैतडी –सेती नदी र सुर्नया नदीमा पुल नहुँदा बैतडीका हजारौँ स्थानीयको दैनिकी कष्टकर बनेको छ । सेतीको पुल २०७८ सालको बाढीले बगाएको हो भने सुर्नया नदीमा बन्न लागेको मोटरेवल पुल आठ वर्षदेखि अलपत्र परेको छ ।
सिगास गाउँपालिका–७, भौनेलीपातलदखि डोटी जिल्लाको आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने सेती नदीको पुल बाढीले बगाएपछि यहाँका स्थानीय समस्यामा परेका छन् । गएको बर्ष बाढीले बगाएको पुल नबन्दा स्थानीयहरुलाई आवतजावतमा निकै समस्या भएको छ । सेती नदीले पुल बगाउँदा सिगास गाउँपालिका र डोटीको आदर्श गाउँपालिकाका नागरिक समस्यामा परेका भएपनि पुल पुनःनिर्माण हुन नसकेको स्थानीय पदम साउँदले जानकारी दिए । उनले भने ‘सेती नदीमा पुल नहुँदा यताउता जान निकै समस्या भएको छ । तर पुल निर्माणका बिषयमा कसैले ध्यान दिन सकेका छैनन् ।’
पाटन नगरपालिका –६, स्थित सुर्नया नदीमा आठ वर्ष अघि निर्माण सुरु भएको मोटरेवल पुल अलपत्र पर्दा पाटन नगरपालिकाको कैलापाल र सकारका नागरिकको बर्षातको समयमा मोटर चढ्ने धोको अधुरै रहेको छ । हिउँदमा नदीमै जिपहरु सञ्चालन गर्ने गरिएको भएपनि बर्षातको समयमा भने पुल नहुँदा समस्या हुने गरेको स्थानीय उद्धव भट्टराईले बताए ।
सेती नदीमा पुल नहुँदा डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर जानुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर बोहराले बताए ।
अहिले चुनाव नजिक आएकाले उम्मेदवारहरु घरघरमा भोट माग्न पुगिरहेका छन् । उनीहरुले पुल निर्माणको आश्वासन समेत दिन थालेका छन् । उम्मेदवारहरु पुरानै बाचा सहित गाउँघरमा आएका स्थानीयहरुको आरोप रहेको छ ।
सेतीको बाढीले पु¥याएको क्षतिको अवलोकन गर्न सांसद, मन्त्री र स्थानीय सरकारका प्रतिनिधि पुगेपनि बाढी पीडितले कुनै राहत नपाएको स्थानीयहरुले बताएका छन् ।
सडक डिभिजन कार्यालय पाटन, बैतडीले ठेक्कामार्फत २०७१ सालदेखि निमार्ण सुरु गरेको मोटरेबल पुल आठ वर्षसम्म पूरा नहुँदा पाटन नगरपालिका–१, र ७ नम्बर वडा जोड्ने सडकमा यातायात चल्न नसक्दा स्थानीयले दैनिक उपभोग्य वस्तु पिठ्यूँमा बोकेर ढुवानी गर्न बाध्य भएका छन् । यो पुल निर्माणको कुरा पनि उम्मेदवारहरुले चुनावी एजेण्डा बनाउने गरेका छन् । तर पुल निर्माणको काम भने हुन सकेको छैन् ।




