बैतडी –दार्चुलामा सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा नेपाली बालकको मृत्यु भएकोबारे परराष्ट्र मन्त्रालयले भारतलाई ‘कूटनीतिक नोट’ पठाएको छ ।
आइतबार बिहान काठमाडौंस्थित भारतीय दूतावासलाई उक्त घटनाबारे परराष्ट्रले ‘कुटनीतिक नोट’ पठाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार कूटनीतिक नोटमा परराष्ट्रले भारत सरकारलाई तीनओटा आग्रह गरेको छ । पहिलो, भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय निकायसँग प्रभावकारी रुपमा समन्वय गर्न, दोश्रो त्यस्ता कार्य गर्दा बिशेष सावधानी अपनाउन र तेश्रो मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनुपर्नेमा जोड दिइएको छ ।
घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ । भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ । महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।
घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो । छलफलपछि पीडित परिवारलाई कम्पनीले १६ लाख क्षतिपूर्ती दिएको छ ।




