Sagun Khabar
बैतडीमा कांग्रेस नगर सभापति नै ‘बागी’उम्मेदवारको पक्षमा खुले 

बैतडी –नेपाली कांग्रेसका पाटन नगरपालिका सभापति मानबहादुर ऐर पार्टीको ‘बागी’ उम्मेदवारका पक्षमा खुलेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीको पक्षमा नगरसभापति ऐर खुलेका हुन् । 

आइतबार बैतडीको खोड्पेमा पत्रकार सम्मेलनको आयोजना गर्दै ऐरले आफूले स्वतन्त्र उम्मेदवार भण्डारीलाई सघाउने बताएका छन् । पार्टीले टिकट वितरणमा गलत निर्णय गरेको भन्दै आफू स्वतन्त्र उम्मेदवारको पक्षमा उभिएको उनले बताएका छन् । उनले भने ‘जनआधार र पार्टीका अधिकांश साथीहरुको सल्लाह अनुसार मैले यो निर्णय लिएको हुँ ।’

पत्रकार सम्मेलनमा बोल्दै पार्टीले कारवाही गरेमा आफूले सहने समेत उनले बताए । प्रजातान्त्रिक पार्टीको सभापति भएको हुनाले आफूले यो निर्णय गरेको ऐरको भनाइ छ । 

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीले कांग्रेसका नेता कार्यकर्ताहरुको आफ्नो पक्षमा रहेको दाबी गरे । गठबन्धनका उम्मेदवारलाई नेता कार्यकर्ताहरुको साथ नरहेको उनको जिकिर थियो । आफ्नो पक्षमा लागेकै आधारमा पार्टीका नेता र कार्यकर्तालाई कारवाही गरेमा कांग्रेसमा कोही पनि नरहने भण्डारीले दाबी गरे । 

यस्तै कांग्रेसबाटै विद्रोह गरेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका केशवबहादुर चन्दले पार्टीले गलत निर्णय लिएका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । पार्टीकै कार्यकर्ताहरुको आग्रहमा आफूले उम्मेदवारी दिएको उनले दाबी गरे । 

यसअघि कांग्रेसको भातृसंस्था नेपाल दलित संघ बैतडीका अध्यक्ष रमेश कोली भण्डारीको मुख्य प्रचारकको रुपमा खुलेर लागिसकेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हरिमोहन भण्डारीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । 

कांग्रेसले पार्टी उपसभापति बिरबहादुर बिष्टलाई प्रदेश सभा (क)मा प्रदेश सभा सदस्यका लागि आधिकारिक उम्मेदवार बनाएको भएपनि भण्डारी ‘बागी’ उम्मेदवार बनेर चुनावी मैदानमा रहेका छन् । 

कांग्रेसकै उम्मेदवार विरुद्ध ‘बागी’उठेका भण्डारीले चुनावी प्रचारप्रसार कार्यक्रमलाई आक्रामक रुपले अघि बढाएका छन् । कांग्रेसका नेता कार्यकर्ताहरुले आफूलाई भोट दिने समेत उम्मेदवार भण्डारीले बताए । कारवाहीको डरले पार्टीका पदाधिकारी नखुलेका भएपनि भोट आफूलाई दिने भण्डारीको दाबी छ । 

चुनाव चिन्ह पानीको धारा लिएर स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले चुनाव जित्ने दाबी समेत गरेका छन् । यता गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौती बनेका छन् । कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकाहरुले निष्क्रिय नबसेपछि यसले मतपरिणाममा फरक पार्ने आँकलन गर्न थालिएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update