बैतडी –हरेक चुनावमा बैतडीको तल्लोसोराड क्षेत्रका लागि महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको कुरा चुनावी नारा बन्ने गरेको छ । उम्मेदवारहरुले घरदैलोमा भोट माग्ने क्रममा महाकाली नदीमाथि झोलुंगे पुल निर्माणका लागि प्रतिबद्धता समेत जनाउने गरेका छन् ।
भारतसंग सीमा जोडिएको तल्लोसोराड क्षेत्रका नागरिकलाई आवतजावतमा सहजताका लागि महाकाली नदीमाथि झोलुंगे पुल आवश्यक छ । तर हरेक चुनावमा यो कुरा चुनावी नारा मात्रै हुने गरेको पञ्चेश्वरका स्थानीय जनक साउँदले बताए ।
महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको शिक्षक महामलसिंह साउँदले बताए । तल्लोसोराडको भारतसंग सीमा जोडिएका नागरिक विभिन्न कामका लागि सीमावर्ती भारतीय बजारमा जाने भएपनि पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रही आएको उनले बताए । उनले भने ‘दैनिक उपभोग्य सामग्री खरीद गर्न, औषधोपचार गर्न भारतीय बजारमा जानुपर्ने हुन्छ । तर झोलुंगे पुल नहुँदा साह्रै समस्या हुने गरेको छ ।’
महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा बर्षेनी तल्लोसोराडका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ । महाकाली नदीमा वारपार गर्नका लागि डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने र डुंगा पल्टिदा दुर्घटना हुने गरेको स्थानीयहरुले बताएका छन् ।
हरेक निर्वाचनका समयमा उम्मेदवारहरुले झोलुंगे पुल निर्माणको बाचा गर्ने गरेका भएपनि बाचा भने अहिले सम्म पूरा नभएको स्थानीयहरुको गुनासो छ । महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकाले भारतको सहमति बिना पुल बनाउन सम्भव रहेको छैन् ।
नेपालमा रहेका विभिन्न देवीदेवताका मन्दिर तथा शक्तिपीठहरुको दर्शनका लागि सीमावर्ती भारतीय दर्शनार्थी समेत नेपाल आउने गरेका छन् । तर झोलुंगे पुल नहुँदा उनीहरुले समेत सास्ती खेप्दै आएका छन् । महाकाली नदीमा झोलुंगे पुल निर्माणको माग नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको समेत माग रहेको छ । तर पुल निर्माणको कुरा अहिले सम्म अगाडि बढ्न सकेको छैन् ।
नेपाल र भारतकाबीचमा छलफल गरेर सीमा नदीमा झोलुंगे पुल बनाउन आवश्यक रहेको शिक्षक साउँदले बताए । तल्लोसोराड क्षेत्रका नागरिकको मुख्य मागको रुपमा महाकाली नदीमाथि झोलुंगे पुल रहेको उनले बताए । उनले भने ‘अहिले सम्म जितेका सबै प्रतिनिधिहरुले पुल बनाउने आश्वासन दिएका हुन् । तर अहिले सम्म त्यो आश्वासन पूरा हुन सकेको छैन् ।’




