बैतडी –बैतडीमा गठबन्धनका उम्मेदवार विरुद्ध ‘बागी’उम्मेदवारी दिएकाहरु निष्क्रिय नबसेपछि गठबन्धनलाई चुनौती थपिएको छ । निष्क्रिय बस्नु सट्टा उनीहरुले चुनावी प्रचारप्रसारलाई आक्रामक रुपमा अघि बढाएपछि गठबन्धनलाई चुनौती थपिएको हो ।
टिकट नपाएको भन्दै कांग्रेसबाट केशवबहादुर चन्दले प्रतिनिधि सभा र हरिमोहन भण्डारीले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । उनीहरुलाई निष्क्रिय बस्नका लागि पार्टीले आग्रह गरेको भएपनि उनीहरुले सो आग्रहलाई स्वीकार नगरी चुनावी मोर्चामा अगाडि बढेका छन् ।
कांग्रेसबाट ‘बागी’उठेकाहरुले कांग्रेसकै संगठनका नेता कार्यकर्ताहरु आफ्नो पक्षमा पार्न थालेपछि गठबन्धनलाई चुनौती थपिएको छ । कांग्रेसका पाटन नगरपालिका सभापति मानबहादुर ऐर नै स्वतन्त्रको पक्षमा खुलेका छन् । आइतबार खोड्पेमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनी पार्टी विधान र नेतृत्वलाई चुनौती दिँदै ‘बागी’उम्मेदवारको पक्षमा खुलेर लागेका छन् ।
कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई चुनावमा सघाउने भन्दै उनी खुलेर लागेका छन् ।
कांग्रेसले पार्टीका आधिकारिक र गठबन्धका उम्मेदवार विरुद्ध लागेमा कारवाही गर्ने बताइरहेका बेला नगरसभापति नै स्वतन्त्रका पक्षमा उभिएका छन् । आफू नेता कार्यकर्ता सहित स्वतन्त्रको पक्षमा उभिएको उनको दाबी छ ।
तर यता कांग्रेसले भने दुईचार अवसरवादीले पार्टीको विधान विपरीत काम गर्दैमा समस्या नहुने जनाएको छ । कांग्रेसभित्र अवसरका लागि आएकाहरु आँफै किनारा लागेको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
‘बागी’उम्मेदवारको पक्षमा लागेका रमेश कोलीलाई पार्टीबाट निष्कासन गरिएको छ भने मानबहादुर ऐरलाई स्पष्टीकरण सोधिएको सचिव चन्दले बताए । पार्टीको निर्णय विरुद्ध उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई कांग्रेसको केन्द्रले नै कारवाही गरिसकेको उनले बताए ।
पार्टीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पार्टीको मतलाई फरक नपार्ने सचिव चन्दको दाबी छ । नेपाली कांग्रेसमा आवद्ध नेता कार्यकर्ता गठबन्धनकै पक्षमा मतदान गर्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।




